अर्घाखाँचीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु

अर्घाखाँची -अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे खसेको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।

पाणिनि–१, पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा ११ वर्षीय अञ्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए ।

सकुशल उद्धार गरिएका १४ वर्षीय सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको पाणिनि–१ का वडाध्यक्ष कमल पोखरेलले जानकारी दिए ।

सो घरमा ६ व्यक्ति बस्दै आएकामा दुईजना गोठको काम गरिरहेको अवस्थामा पहिरो खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?