व्यावसायिक कर तत्काल घटाउन डुम्रेवासीको माग, सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी

डुम्रे; तनहुँको बन्दीपुर गाउँपालिकाले व्यावसायिक कर उच्च निर्धारण गरेपछि डुम्रेका उद्योग, व्यवसायीले करको दर घटाउन माग गरेका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई समितिले आज पत्रकार सम्मेलन गरी व्यवसायीले करको दर घटाउन माग गरेका हुन् ।आर्थिक मन्दी संगै उच्च बैंक ब्याजका साथै व्यापार अस्तव्यस्त भएको अवस्थामा व्यवसायी दोहोरो मारमा परेका बेला बन्दीपुर गाउँपालिकाले ब्यबसायीहरुको ढाडसक्ने गरी कर उच्च निर्धारण गरेको तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईका सभापति राजेश श्रेष्ठले जानकारी दिए ।

पृथ्वी राजमार्ग विस्तारको क्रममा अधिकांश डुम्रे बजारका उद्योग, व्यवसायी विस्थापित हुने अवस्था रहेकोे छन् । व्यवसायी कर उच्च निर्धारण गरेपछी बन्दीपुर गाउँपालिका अन्तर्गत पृथ्वी राजमार्गको बन्दीपुर, डुम्रे र विमलनगरका व्यवसायी मारमा परेको डुम्रे बजार ईकाईका पुर्व सभापति सुनिल श्रेष्ठले बताए ।
उने भने, “यस्तो आर्थिक मन्दीको कारण सबै व्यवसायी मारमा छन्, झन गाउँपालिकाले करको नाममा हाम्रो घाँटी निचोडने काम गरिरहेको छ, यसवर्ष तिर्ने करमा ५० प्रतिशत छुटका लागि आगामी वर्षमा छिमेकी पालिकाले निर्धारण गरेको करलाई आधार मानी गाउँपालिकाले व्यवसायी कर निर्धारण गर्नुपर्छ ”।

तनहुँ उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष मानकाजी श्रेष्ठले संकटको बेलामा स्थानीय तहले उद्योग व्यवसायी बच्ने र बचाउने कार्य मात्र गर्नुपर्ने बताए । “डुम्रे बजारमा सडक विस्तारका क्रममा सकस परेका बेला पालिकाले ध्यान दिएर कर लिने गर्नुपर्छ उनले भने ”।

यस्तै, उपस्थिति  व्यवसायीहरुले व्यवसायीले कर नतिर्ने भन्दा पनि उद्योग, व्यवसायीलाई सहज हुने गरी करको दर निर्धारण गर्न माग गरेका थिए । बन्दीपुर गाउँपालिकाले लिएको चर्को करलाई सम्बोधन नगर्दा पत्रकार सम्मेलनमार्फत कडा आन्दोलन गर्ने चेताबनी दिएका छन् ।

उनीहरूले छिमेकी पालिकाले जसरी उद्योगी, व्यवसायीको समस्या समाधान गर्ने गरी सम्बोधन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?