तनहुँमा दुई अर्ब ११ करोड बजेट फ्रिज

दमौली : तनहुँमा आर्थिक बर्ष २०७९/०८०मा दुई अर्ब ११ करोड ११ लाखभन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता (फ्रिज) भएको छ । संघिय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेट मध्येबाट जिल्लामा आएको पुँजीगत बजेटमा काम हुन नसकेपछि उक्त रकम फिर्ता (फ्रिज) भएको हो ।

सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारको गरी सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँमा प्रमुख विनोद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पुँजीगत अर्थात् विकासतर्फ सङ्घ सरकारबाट जिल्लाका लागि सङ्घीय सरकार मातहतका कार्यालयले कार्यसम्पादन गर्ने गरी प्राप्त ३ अर्व ३२ करोड २७ लाख ९६ हजार ३९० रुपियाँ बजेटमध्ये ६५ दशमलव ९३ प्रतिशत अर्थात् २ अर्ब १९करोड ९ लाख ७४ हजार २०६रुपियाँ खर्च भएको छ भने १ अरब १३ करोड १८ लाख २२ हजार १८३ रुपियाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।

यस्तै, पुँजीगततर्फ गण्डकी प्रदेश सरकारबाट आफ्ना मातहतका कार्यालयले कार्य सम्पादन गर्ने गरी प्राप्त दुई अर्ब ९४ करोड ५ लाख १५ हजार १८७ रुपियाँ बजेटमध्ये ६६/६९ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड १२ लाख २१ हजार ९९४ रुपियाँ खर्च भई ९७ करोड ९२ लाख ९३ हजार १९२ रुपियाँ खर्च हुन नसकेर फ्रिज भएको छ ।

आर्थिक मसान्तमा खर्च गर्ने प्रवृत्ति तनहुँमा यस आर्थिक वर्षमा पनि रोकिन सकेको छैन । असार महिनामा मात्र कुल बजेटको १६ दशमलव ५२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार काम पहिला सम्पन्न भए पनि भुक्तानीपछि लैजाने गरिएकोले पनि असारमा बढी खर्च हुने गर्दछ ।  असारमा सङ्घ र प्रदेश सरकारको चालु र पुँजीगत तर्फको गरी दुई अर्ब ७६ करोड ४३ लाख ३५ हजार ६७५ रुपियाँ बजेट खर्च भएको छ ।

असार महिनामा सङ्घ सरकारको चालु खर्चतर्फ एक अर्ब २० करोड ३८ लाख ५० हजार १५ रुपियाँ अर्थात् १२ दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ ५८ करोड ९१ लाख ३७ हजार १९४ रुपियाँ अर्थात् १७ दशमलव ७३ प्रतिशत खर्च भएको छ । तुलनात्मक रूपमा तनहुँमा आएको बजेट खर्चको अनुपातलाई हेर्दा विगतको भन्दा निराशाजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?