काठमाडौं : नेपाली कांग्रेको केन्द्रीय समतिको बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । साउन २देखि सुरु भएको केन्द्रीय समितिको बैठकममा बोल्ने केही केन्द्रीय सदस्यहरुले संघीयताको विकल्प खोज्नुपर्ने र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने विचार राखेका हुन् ।
कतिपयले हालको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमै सबै जाति, क्षेत्र समुदायको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने, संघीय संसद सदस्यको संख्या घटाउनुपर्ने विचार समेत राखेका छन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीले धर्मनिरपेक्ष, संघीयता र निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। २०४७ सालको संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा बनेको र २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको भन्दै भण्डारीले २०४७ मा जस्तो अहिलेको संविधानको स्वामित्व लिन नसकिने बताए । भण्डारीले संघीयतामा पनि समस्या देखिएको भन्दै विकल्प खोज्नुपर्ने मत राखे ।
भण्डारीलाई समर्थन गर्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसी र भीम पराजुलीले पनि हिन्दु राष्ट्रको पक्षमा धारणा राखे। पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । उनले कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्ने समेत धारणा राखे । केन्द्रीय सदस्य चन्द्रबहादुर केसी धार्मिक स्वतन्त्रता सहितको सनातन वैदिक राष्ट्रको पक्षमा पार्टी देखिनुपर्ने मत राखे।
केन्द्रीय सदस्य तारामान गुरुङले प्रदेशको सरकार र सांसदलाई जनताले मन नपराएको बताए । वर्तमान निर्वाचन प्रणालीबाट बहुमत ल्याउन सम्भव नभएका कारण चुनावअघि गठबन्धन गर्नुपर्ने र गर्न नहुने विषयमा पनि नेताहरुबीच मत भिन्नता रहेको छ । सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले गठबन्धन गरेका कारण पार्टीको धेरै सिट आएको र संघीयदेखि सातै प्रदेश सरकारमा कांग्रेस सहभागी भएको मत राखेका छन् ।
बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसद सदस्य घटाउनुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद संख्या घटाउनुपर्ने र त्यसका लागि संविधान संशोधनको अगुवाइ कांग्रेसले गर्नुपर्ने उनले धारणा राखे । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ सदस्यीय बनाउने र सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको मत छ । त्यस्तै राष्ट्रियसभा सदस्यको संख्या पनि ३५ मा झार्नुपर्ने पौडेलले बताए ।
हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ । नेता शेखर कोइराला र मिनेन्द्र रिजालले पनि निर्वाचन प्रणालीका विषयमा कांग्रेसभित्र छलफल आवश्यक रहेको बताए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?