काठमाडौं : कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच शनिबार छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासँग छलफल गर्नुभएको हो ।
सर्वोच्च अदालतको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई दलका शीर्ष नेताबीच छलफल भएको बताइएको छ ।
बैैठकले कोशी प्रदेशका सत्तारुढ पार्टीहरुका संसदीय दलका नेताहरुलाई काठमाडौं डाकेको छ । आइतबार बिहान ९ बजे प्रदेश संसदीय दलका नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बुझिएको छ ।
कोशी प्रदेशमा राप्रपालाई साथ नलिई सरकार बन्ने अवस्था क्षीण देखिएकाले सत्तारुढ गठबन्धन राप्रपालाई फकाउने कोशिसमा रहेको छ ।
कांग्रेसले सरकार गठनका लागि समर्थन गर्न राप्रपा सकारात्मक हुने सम्भावना कम भएको भन्दै सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन माओवादीलाई दबाब दिएको बालुवाटार बैठकमा कांग्रेस नेताहरूले प्रधानमन्त्री दाहालसँग राप्रपाले समर्थन नगरेको अवस्थामा सभामुखलाई राजीनामा गराउनुपर्ने धारणा राखेका थिए । ‘राप्रपाको समर्थन जुटाउनका लागि विश्वासमा लिने र त्यो सम्भव नभए सभामुखबाट गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नेबारे छलफल भएको छ,’ कांग्रेसका कोशी प्रदेश प्रमुख सचेतक भूपेन्द्र राईले भने ।
माओवादीले भने सभामुखले राजीनामा दिँदैमा समस्या समाधान नहुने तर्क गरेको छ । यसअघि पनि कांग्रेसले सभामुख गौतमलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न हस्ताक्षर गराएको माओवादीका प्रदेश सांसदको भनाइ छ । सभामुख गौतमले गरेको हस्ताक्षरको विवाद सर्वोच्चमा पुगेर सभामुखका साथै सत्ता गठबन्धन नै बदनाम भएको अवस्थामा जबर्जस्ती राजीनामा गर्न लगाए परिणाम सुखद नहुने ती सांसदले बताए ।
सभामुखले राजीनामा दिंदा उपसभामुखले पनि राजीनामा दिने संभावना देखेपछि सत्तारुढ गठबन्धन राप्रपालाई फकाउने कोशिसमा लागेको हो । राप्रपाले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ । तर, गठबन्धनसँग ४६ मत मात्रै छ । यस्तै विपक्षमा एमालेका ४० र राप्रपाका ६ सांसद गरी ४६ मत नै रहेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?