काठमाडौं : सहकारीमा फसेको रकम उठाइदिन माग गर्दै दुई अग्रज अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवी अनसनमा बसेका छन् ।
उनीहरू काठमाडौंको माइतीघर मण्डलामा दश घण्टे अनसनमा बसेका हुन् । सोमवार दिउँसो १२ बजेदेखि अनसन शुरू गरेका उनीहरू राति १० बजेसम्म माइतीघरमा रहनेछन् ।
‘मेरो परिवार सबैले मलाई भन्छन् । मेरो निद्रा पनि छैन, भोक पनि छैन्’ अभिनेत्री बसुन्धराले चैत्यदेवीतर्फ देखाउँदै भनिन्, ‘मेरो त कमसेकम घर छ । दिदीको त गास पनि छैन, बास पनि छैन् ।’ फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत भेटिसकेका छन् ।
यी अभिनेत्रीहरूको सामाजिक संस्था ‘भुवन चैत्य बसुन्धरा’ फाउण्डेसनको नामबाट पनि सिभिल सहकारीमा १५ लाख रुपैयाँ समेत फसेको उनीहरूको भनाइ छ ।
सहकारी पीडितहरूमा विगत ६१ दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । शुरूका ४५ दिनसम्म धर्ना र आह्वान गरेका उनीहरूले त्यसपछि ४६औं दिनबाट रिले अनसन शुरू गरेका थिए । रिले अनसनअन्तर्गत आज १६ औँ दिनमा अभिनेत्रीद्वयले सहभागिता जनाएका हुन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?