शुक्र ग्रहमा मान्छे पठाउने लक्ष्य

काठमाडौं : समुद्री पर्यटन, खोज र अन्वेषणसम्बन्धी कम्पनी ओसनगेटका सहसंस्थापक गुइलेर्मो सोहन्लेनले शुक्र ग्रहमा मानिस पठाउने लक्ष्य राखेका छन् ।

गएको जुनमा अमेरिकी कम्पनी ओसनगेटले टाइटानिक जहाजको भग्नावशेषनजिक एक पनडुब्बी पठाएको थियो । सो पनडुब्बी विस्फोट भएर त्यसमा सवार पाँचजनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमा ओसनगेटकै सीईओ स्टकटन रश पनि थिए ।

यो घटनापछि हालै एक अन्तर्वार्तामा कम्पनीका सहसंस्थापक सोहन्लेनले सन् २०५० सम्म शुक्र ग्रहमा मानिस पठाउने लक्ष्य राखिएको बताएका हुन् ।

ह्युमनटुभेनस कम्पनीका अध्यक्ष एवं संस्थापक समेत रहेका सोहन्लेनले इन्साइडरसँगको अन्तर्वार्तामा सौर्यमण्डलको सबैभन्दा तातो ग्रह शुक्रमा एक हजार मानिसका लागि कोलोनी निर्माण गर्न सकिने आशा व्यक्त गरे ।

शुक्र ग्रहको सतहबाट करिब ४८ किलोमिटरमाथिको भागमा मानिसको अस्तित्व हुन सक्ने नासाको पछिल्लो नतिजालाई उद्धृत गर्दै उनले यस्तो बताएका हुन् । नासाले शुक्र ग्रहमा कार्बनडाइअक्साइड भरिएको एकदमै विषाक्त वातावरण रहेको उल्लेख गरेको छ ।

सोहन्लेनले २००९ मा स्टकटन रशसँग मिलेर ओसनगेटको स्थापना गरेका थिए ।

शुक्र ग्रहलाई सल्फ्युरिक एसिडको बाक्लो पहेँलो बादलले ढाकेका कारण पनि यसको तापक्रम उच्च छ । विज्ञले शुक्र ग्रहमा मानिस बस्न लगभग असम्भव हुने बताएका छन् ।

हरितगृह ग्यास कार्बनडाइअक्साइड र सल्फ्युरिक एसिडको बादलले तापलाई शुक्र ग्रहमै रोक्छ । यसको सतहलाई भट्टीझैँ तातो बनाउँछ । शुक्र ग्रह यति धेरै तातो छ कि यसमा सिसा सहजै पग्लिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?