पटकपटक प्रहरीले पक्राउ गरेका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउलान?

काठमाडौं : पटकपटक विभिन्न प्रकरणमा प्रहरीले पक्राउ गरेका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने चर्चा चलेसंगै तरंग पैदा भएको छ ।

वर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको कार्यकाल सकिएसंगै उक्त पदका लागि विभिन्न व्यक्तिहरुको दौडधुप चलिरहेको बेला ल्यारक्याल लामालाई आजै मन्त्रिपरिषदको बैठकबाट नियुक्ति गर्न लागेको स्रोतले बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि उनलाई पक्राउ गरेका थिए ।

अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन समेत गरेको लामा पुनः आर्थिक चलखेलमा लुम्बिनी विकास बोर्डको उपाध्यक्ष जस्तो पदमा नियुक्ति गर्न लागेको स्रोतले बताए ।

अवैध हतियार राखेको र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका उनलाई विशेष अदालतले सफाइ दिएका थिए । उनी विरुद्ध अख्तियारले ९ करोड २४ लाख अकुत सम्पत्ति जोडेको अभियोगमा लामाविरुद्ध मुद्दा दायर गरेको थियो । लामा १ करोड धरौटीमा छुटेका थिए ।

अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो । त्यस क्रममा २० करोड ३४ लाख रुपैयाँ बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैंयालाई गैरकानूनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

लामालाई तीन पासपोर्ट भएको, स्वतन्त्र तीब्बत आन्दोलनमा लागेको, बुढानीलकण्ठ नगरपालिका २ गणेशचोकमा रहेको लामाको घरसँगै रहेको सरकारी जमिनकब्जा गरेर लामो समयदेखि भोगचलन गरिरहेको, वैदेशिक रोजगार ठगी, जस्तो दर्जनौं आरोपहरु लागेको थियो । उनि वैदेशिक रोजगारीको ठगि मुद्दामा समेत ३० लाख धरौटीमा रिहा भएको थियो ।

विवादित छवि भएका ल्यारक्याललाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने चर्चासंगै तरंग पैदा भएको छ ।

यस्तो छ लामाको अबसरवादी यात्रा:

२०५८ मा ल्यारक्याल लामालाई तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।

अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछु भनेपछि उनलाई सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का मार्फत अध्यक्षमा नियुक्ति गराएको थियो ।

०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।

अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।

त्यसकारण उनी माओवादी केन्द्रतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी माओवादी प्रवेश गरे । माओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् ।

तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्याललाई माओवादीले सांसद बनाएका थिए ।

लुम्बिनी विकास कोषको उक्त पदमा ल्यारक्याल लामासंगै भिक्षु रमेश कुमार बानियाँ, गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्व उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध) र पूर्व सदस्य भिक्षु कुन्डयको पनि चर्चा चलेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?