झुठा मुद्धामा फसाउन खोजेको भन्दै प्रहरी कार्यालय घेराउ

दमौली :  तनहूँको देवघाट गाउँपालिका–५ का बासिन्दाले सर्वसाधरणलाई झुठा मुद्धामा फसाउन खोज्ने इलाका प्रहरी कार्यालय देवघाटका असई बोझनारयण श्रेष्ठलाई कारवाहीको माग गरेका छन् ।

देवघाटका बासिन्दाले शनिबार नारा जुलुस सहित इलाका प्रहरी कार्यालय देवघाट घेराउ गरि असई श्रेष्ठलाई कारवाही गर्नु पर्ने माग गरेका हुन् ।

साँढेबगरका बुद्धसिंह गुरुङको घरमा गैंडाको खाग लुकाएर राखेको सुचना प्राप्त भएको भन्दै शुक्रबार ठुलो संख्यामा प्रहरीले उक्त घर घेराहाली झोला बरामद गरेको थियो ।

सो झोला भित्र गैंडाको खाग रहेको भन्दै प्रहरीले बुद्धसिंह गुरुङले उक्त सामान लुकाएर राखेको आरोप लगाएको थियो । स्थानीय बासिन्दाको दवावमा प्रहरीले सो झोला घटनास्थलमै खोलेर हेर्दा गैंडाको खागको आकारको काठको टुक्रा भेटिएको थियो ।

झोलामा गैंडाको खाग भेटिएको भन्दै बुद्धसिंहलाई झुठा मुद्धामा फसाएर जेलमा हाल्ने षड्यन्त्र स्वरुप असई श्रेष्ठले नै उक्त झोला राखेको स्थानीयको भनाई छ ।

यही विषयमा शुक्रबार स्थानीय बासिन्दा र प्रहरी विच साँढेबगरमा पटक–पटक झडप समेत भएको थियो । सो क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?