राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रचण्डले भने–शान्ति प्रक्रिया टुंगिने चरणमा छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको बताएका छन् ।यो काम नेपाल सरकारको प्रमुख एजेण्डा भएको पनि उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो प्रमुख राजनीतिक एजेण्डा संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हो । हाम्रो अद्वितीय शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने चरणको निकटमा छौं ।’

शान्ति, न्याय र परिपूरणबीचको सन्तुलन कायम राख्दै संक्रमणकालीन न्यायका बाँकी काम टुंगो लगाउने गृहकार्य अन्तर्गत संसदमा त्यस सम्बन्धी संशोधन विधेयक पेस गरिएको जानकारी पनि उनले गराए ।

‘व्यापक परामर्श मार्फत तयार पारिएको विधेयक पीडित केन्द्रित छ र पीडितको अधिकारको रूपमा परिपूरणलाई मान्यता दिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने । सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरेर नेपालले दुर्लभ उदाहरण प्रस्तुत गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?