काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई दिने घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् ।
एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् । ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ,’ उनले भने ।
उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । कप्तान पौडेलले एसियन गेम्सलाई लिएर सबै जना एक्साइटेड रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए ।
उनले एसियाड गेमले टी-२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए । टी-२० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?