लेखक देव वस्न्यातलाई नमूना तोप उपहार

दमौली : तनहुँको प्रसिद्ध प्राचिन तनहुँसुर दरवारमा रहेको तोप बनाउने बन्दे कामीको बारेमा खोजी गरी प्रचारप्रसार गर्ने व्यास १ तनहुँका लेखक देव वस्न्यातलाई बन्देका ७ औं पुस्ता ८० बर्षीय सुकबहादुर आले विश्वकर्माले उपहार स्वरुप काठको नमूना तोप प्रदान गरेको छ ।

तनहुँसुरमा रहेको तोप बनाउने आफ्ना पुस्ता बन्देको क्षमता र प्रतिभाको बारेमा खोजी गरी विभिन्न संचारमाध्यमबाट प्रचारप्रसार गरी उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकोले आफूले लेखक वस्न्यातलाई नमूना तोप प्रदान गरेको आले विश्वकर्माले बताए ।

‘‘लेखक वस्न्यातले खोजी गर्नु हुन्थेन भने बन्देको प्रचारप्रसार हुने नै थिएन’’, विश्वकर्माले भने, ‘‘बन्देको बारेमा लेखेर हामी सन्तानलाई समेत लेखक वस्न्यातले प्रेरणा दिनुभएको छ । उहाँलाई आफैंले हातले बनाएको नमूना तोप नै उपहार प्रदान गर्न पाउँदा निकै खुशी लागेको छ ।’’

भारतीय पारामेल्ट्री फोर्सबाट पेन्सन प्राप्त भएपनि आफ्ना पुस्ता बन्देको इतिहाँसबाट प्रभावित भएर नमूना तोप समेत बनाएको विश्वकर्माले बताए ।

लेख लेखेको आधारमा यसरी उपहार प्राप्त हुनु लेखकको लागि रोचक संयोग भएको लेखक वस्न्यातले बताए । ‘‘तनहुँसुरलाई तोपले नै जिवन्त बनाएको छ । तर त्यो तोप बनाउने व्यक्तिको ईतिहाँस खोज्दै जाँदा बन्दे कामीसम्म पुग्न सकें’’, लेखक वस्न्यातले भने, ‘‘अहिले बन्देका सन्तानहरुबाट यसरी उपहार पाउनुले गर्वानुभूति भएको छ ।’’

प्राचिन सम्पदा र मौलिक संस्कृतिलाई उजागर गरी आफ्ना कृतिमार्फत पर्यटन प्रवर्धनमा टेवा पु¥याउन लेखक वस्न्यातको योगदान रहेको पाईन्छ । लेखक वस्न्यातको करिव आधा दर्जन कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?