भानुले सुरु गर्याे चाडपर्व लक्षित वजार अनुगमन

दमौली : तनहुँको भानु नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। उपप्रमुख उमा  गोतामे संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।

बुधवार नगरपालिकाको वडा नम्बर १ को डुम्रे–साजबोटे क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरिएको नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिइन् ।

आम सर्वसाधारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले म्याद गुज्रिएको खाद्य सामग्री जफत गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । नगरपालिका अन्तरगतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाईसजाँगर, चन्द्रावती लगाएतका बजार क्षेत्रमा अनुगमन गरिने उनले बताए ।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, माछामासु पसल लगायतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्य बस्तु, व्यवसाय दर्ता नगरी सन्चालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगायतको कैफियत देखिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

पाण्डेले व्यवसाय दर्ता नगर्नेका लागि तत्काल व्यवसाय दर्ता गरी सन्चालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको बताए । भेटिएका अखाद्य बस्तुलाई जफत गरी नियन्त्रणमा लिई डिस्पोज गर्ने तयारी भैरहेको भन्दै त्यस्ता ब्यापारीलाई कारबाही गरिने पाण्डेले जानकारी दिए ।

अनुगमनमा उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नम्बर १ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बरिष्ठ अधिकृत सुनिल पाण्डे, ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक शुसिल घिमिरे, नगरपालिकाको विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी प्रमुख फुर्का तामाङ, सन्चारकर्मी लगायतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?