तनहुँ: जिल्लाका दश स्थानीय तहहरुमा कोरोना सङ्क्रमितको ग्राफ ओरालो लाग्ने क्रम जारी नै रहेको छ। स्वास्थ्य कार्यालय तनहुँको तथ्यांकअनुसार देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका भने कोरोना सङ्क्रमण मुक्त भएको जनाएको छ ।
हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको छ । व्यासमा न.पा.मा १३, शुक्लागण्डकी न.पा.मा १६, भानु न.पा.मा ५, भिमाद गा.पा मा ३ , म्याग्दे गा.पा मा ६, घिरिङ गा.पा मा १ , ऋषिङ गा.पा मा १ र बन्दिपुर गा.पा मा १ सक्रिय सङ्क्रमित रहेका छन् ।
देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण शुरु भएसंगै देवघाट गा.पा मा १ र आँबुखैरेनी गा.पा मा १ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको हो ।हाल सबै सङ्क्रमितहरु भने होम आइसोलेशनमा रहेका छन् ।
जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चार जना निको भएका छन् । एक सय २४ सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार पिसिआर परीक्षणका लागि ६ हजार आठ सय एक र एन्टिजेन परीक्षणका लागि आठ हजार दुई सय ३७ नमूना सङ्कलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?