हेटौंडा : बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै एक करोड अर्थात् ९८ लाख रुपैयाँ भन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ ।
बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई दसैँभत्ता उपलब्ध गराएको हो भने मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले वितरण गरेको हो ।
सभामुख, उपसभामुखसहित सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ । मन्त्री र मन्त्रीका स्वकीयहरुका लागि १३ लाख ७१ हजार ९४१ रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले जनाएको छ । मन्त्री, संसद र स्वकीयहरुको दसैँभत्ता वापत् प्रदेश सरकारको ढुकुटीबाट ९८ लाख ८३ हजार ४९१ रुपैयाँ खर्च भएको छ ।
दसैँ भत्ता बापतको रकम ९६ जना सांसदहरुलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ, सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई १ लाख ७७ हजार रुपैयाँ र तिनका स्वकीयहरूलाई १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्तावापत दिइएको हो ।
प्रदेशमा १२ जना मन्त्रीमध्ये ६ जनाले मात्र दसैँभत्ता भुझेका छन् भने अन्य ६ जना मन्त्रीले बुझेका छैनन् । ६ जना मन्त्रीको नियुक्तिको अवधि ६ महिना पुरा नभएकाले उनीहरुलाई अन्य सरह दसैँभत्ता वितरण नगराइएको मुख्यमन्त्री कार्यलयका लेखा अधिकृत देवीप्रसाद गौतमले बताए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दसैँ भत्तावापत ७० हजार ७३० रुपैयाँ तथा ५ जना मन्त्रीहरुले जनही ६० हजार ३२० रुपैयाँ बुझेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुका राजनीतिक सल्लाहकार, स्वकीय सचिव, सुरक्षा गार्ड, सवारी चालक, कार्यलय सहयोगीलगायत २९ जनाले ३ लाख ७२ हजार रुपैयाँ दसैँभत्ता बुझेका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?