
काठमाडौं : विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरूले बताएका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती तथा पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ ।
केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरूको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउन झिलिमिली बत्तीको प्रयोग गर्ने गरिन्छ । केही वर्ष पहिलासम्म माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने प्रचलन थियो । तर देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरूको प्रयोग गरिन थालिएको छ ।
हरेक वर्ष विद्युतीय व्यवसायीहरूले बजारको मागअनुसार झिलिमिली बत्ती आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष झिलिमिली मालालगायत बत्तीहरूको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् ।
तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्तीलगायत झिलिमिली बत्तीहरू आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए । न्युज एजेन्सी नेपालसँग अध्यक्ष देवकोटाले यस वर्षको तिहारका लागि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?