काठमाडौं : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन् । कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन् । त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । तान्जानियाका लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन् ।
ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन् ।
बलिङतर्फ नेपालको लागि संगीता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले समान एकएक विकेट लिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?