काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको अवस्था अनुगमन गर्न समिति गठन गरेकाे छ । प्राधिकरणको शुक्रबार बसेको बैठकले प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति बनाएको हो ।
समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्यसचिवमा प्राधिकरणकी उपनिर्देशक रोजाकिरण बासुकला रहेका छन् ।
यस समितिले टिकटक बन्द भयो/भएन, पूर्ण रूपमा बन्द नभएको खण्डमा के गर्ने, कुन-कुन इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले बन्द गरे, बाँकीले केके गरिरहेका छन् लगायतका विषयमा अध्ययन गरेर एक साताभित्र प्रतिवेदन दिने बताइएको छ ।
यसअघि गत २७ कात्तिक निर्णय गर्दै मन्त्रिपरिषदले सामाजिक सद्भावलाई बिगारेको कारण दिँदै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने बताएको थियो । त्यसपछि नियामक निकाय प्राधिकरणले सबै आईएसपीहरूलाई टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।
तर अहिले सरकारको सो निर्णय कानूनसम्मत नभएको बताउँदै विभिन्न आलोचना भइरहेको छ । त्यस्तै निर्णय खारेजीको माग राख्दै शुक्रबार सर्वाेच्च अदालतमा १० ओटा रिट दर्ता भएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?