दमौली : तनहुँको व्यास नगरपालिका -१ स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाल मगर विद्यार्थी संघले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट छात्रवृत्ति वितरण गरेका छन् ।
मगर विद्यार्थी संघ, क्याम्पस इकाईले क्याम्पसमा अध्ययनरत दुई जना आर्थिक रूपमा कठिन अवास्थामा रहेका विद्यार्थीहरुलाई ६ महिना बराबरको १६ हजार २ सय छात्रबृत्ति प्रदान गरेको इकाइका अध्यक्ष निलिमा थापा मगरले जानकारी दिइन् ।
ऋषिङ गाउँपालिका- ७ निवासी कक्षा ११ मा गणित बिषय समूहमा अध्ययनरत विद्यार्थी संझना आलेलाई ७ हजार दुई सय र म्याग्दे गाउँपालिका – १ निवासी स्नातक तह प्रथम वर्ष वि.एड अंग्रेजी समूहका विद्यार्थी विमला बाचे मगरले ९ हजार छात्रवृत्ति प्रदान गरेको इकाइका सल्लाकार विकास थापा मगरले बताए ।
क्याम्पस सभाकक्षमा आयोजित एक समारोहमा नेपाल मगर संघ गण्डकी प्रदेश संयोजक एवं केन्दिय सदस्य बुद्ध गर्जा मगर र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले संयुक्त रुपमा छात्रवृत्ति रकमको बैंक चेक हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विशेश्वर तिमल्सेना, बिबिए कार्यक्रमका निर्देशक दिपा थापा मगर, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनुप आले मगर, स्ववियु सदस्य एवं व्यवस्थापन विद्यार्थी सर्कलका सचिव प्रविन आले लगायत उपस्थित रहेका थिए ।
यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन् ।
क्याम्पसमा विद्यालय तहमा कक्षा ९-१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।
क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?