भरतपुरमा बोराभित्र भेटिएको शवको सनाखत, हत्या गर्ने व्यक्ति श्रीमान

चितवन : चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पुर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका दुई वटा शवको पहिचान खुलेको छ । गत मंसिर ६ गते जुटको बोराभित्र डोरीले बाधेको अवस्थामा पुरुष र महिलाको शव फेला परेको थियो ।

घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको विवरण प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार हत्यामा संलग्न र मृतक दुवै पक्ष भारतीय नागरिक रहेका छन् । मृतक मध्ये भारतको मोतिहारी फलबारीवा स्थित सुगौलीका १९ बर्षिय ऋषभ कुमार कुशवाहा र भारतको बिहार सुगाँव डीह स्थित सुगौली पूर्वी चम्पारणकी अस्मिता भन्ने सन्जु देवी रहेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न व्यक्ति मृतक सञ्जुका श्रीमान अखिलेश भगत प्रहरीले बताएको छ ।

श्रीमती परपुरुषसंगको सम्बन्धको आशंकामा दुबै जनाको हत्या गरेको खुल्नमा प्रहरीले बताएको छ । ‘मृतक पुरुष र मृतक महिला बीचमा रहेको सम्बन्धका कारण सञ्जुका श्रीमान अखिलेशले शंका गरी सो विषयलाई लिएर मृतकहरुसंग झैझगडा गरेको देखिन्छ,’– प्रहरीले विज्ञप्तीमा भनेको छ । मृतक महिला र परुष भरतपुरमा कोठा लिएर भाडामा बस्दै आएका थिए । मृतक पुरुष नाताले अखिलेशका भतिज पर्ने बताईएको छ । अखिलेशले उनीहरुको मंसिर २ गते हत्या गरेका थिए । हत्यापछि दवै शवलाई दुई वटा जुटको बोरामा प्याक गरी मंसिर ३ गते बिहान पौने एक र सवा एक बजेको समयमा साइकलमा राखेर कल्भर्टमा तिर लगेको प्रहरीले बताएको छ ।

मृतकहरु नेपालमा तरकारी, फलफुल व्यापारको लागि पटक पटक आउने जाने व्यक्ति हुन् । उनीहरु अन्तिम पटक दशै पश्चात नेपाल आई चितवनको मिलनचोक नजिकै कोठा लिई बस्दै आएका थिए ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव मंसिर ६ गते फेला परेको थियो । त्यसपश्चात सिआइवी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान थालिएको थियो । हुलिया पत्ता लगाउन नसकेपछि प्रहरीले मृतकले लगायका कपडा गरगहना सहित स्केच बनाएर समेत सार्वजनिक गरेको थियो ।

घटना लगत्तै मंसिर १६ गते अखिलेश भगत कोही कसैलाई जानकारी नगराई भारत तर्फ लागेको प्रहरीले अनुसन्धान पछि पत्ता लगाएको छ । भारत प्रहरीसंग समन्वय अनुसनधानको क्रममा नेपालबाट गएको एक महिनापछि भारतको प्रहरीले पक्राउ गरेको छ । नेपालबाट प्रहरी गएर समेत सोधपुछको क्रममा हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दएको छ । उनी यसअघि पनि अपराध काण्डमा संलग्न रहेको प्रहरीले बताएको छ । उनीलाई यसअघि भारतमै अपहरण तथा व्यक्ति बेपत्ता परको आरोपमा उजुरी परेको छ । अहिले उनी भारतको केन्द्रीय कारागार गृह मोतिहारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?