काठमाडौं : सांसदहरूले विद्यालयको आधारभूत तहदेखि नै नैतिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले अहिलेको समयमा नैतिक शिक्षा अत्यावश्यक भइसकेकाले पाठ्यक्रममा समावेश गराउनुपर्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यवहारिक शिक्षाको महत्त्व खड्किएको बताइन् । उनले विद्यार्थीहरूलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनुपर्ने बताइन् । त्यस्तै, पोषणका कुराहरू र स्वस्थ जीवनशैलीका कुराहरू पनि विद्यालय तहबाट नै अध्यापन गराउनुपर्ने उनको भनाइ छ ।
उनले विद्यार्थीहलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्यलगायतका कुराहरूको पनि ज्ञान दिनुपर्ने बताइन् ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरूलाई प्रविधिको विकास र सुविधा अनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताए । उनले व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिए । उनले जङ्कफुडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको भन्दै यस सम्बन्धमा सचेतना दिने हिसाबले सानैदेखि सिकाउनुपर्ने बताए ।
त्यसैगरी, बैठकमा बोल्दै नेकपा (एमाले)की सांसद सरिता भुसालले विद्यार्थीहरूलाई देशभक्तिका कुराहरू पढाउनुपर्नेमा जोड दिइन् । उनले देशभक्तिको कुराहरू पढाएमा विद्यार्थीहरू विदेशिनबाट रोकिने बताइन् । उनले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताइन् । संस्कारविहीन शिक्षा मेसिनरी शिक्षा हुने भन्दै यस्तो शिक्षा पाएकाहरूले देश र अभिभावकहरूलाई माया गर्न नसक्ने उनको भनाइ छ ।
नेकपा (एमाले)का सांसद कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राखे । उनले संविधानले परिभाषित गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरूपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?