राष्ट्रियसभा सदस्य निर्वाचन आचारसंहिता लागु

काठमाडौं : निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ ।

यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्न/गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न/गराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकाय/सार्वजनिक संस्था वा विश्वविद्यालय/विद्यालय/महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन ।

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?