माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।

वित्तीय विवरणको अनुसूची १२ मा पुँजीगत खर्च र लगानी शीर्षकमा उक्त जग्गा खरिद गरेको जनाइएको छ । माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव एवं कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट जग्गा खरिद गरेको जानकारी दिए । हाल पेरिसडाँडामा माओवादीको केन्द्रीय कार्यालय संचालन हुँदै आएको छ ।

पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको हो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनिसकेको छ ।

माओवादीले २०६५ सालमा २ रोपनी ८ आना जग्गासहितको भवन राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले गरेको लिलामीबाट सकारेको थियो । तत्कालीन राष्ट्रिय उद्योग व्यापार महासंघको अध्यक्ष शिव कट्टेलको सक्रियतामा उक्त जग्गा र भवन माओवादी मजदुर संगठनको नाममा किनिएको थियो । माओवादी केन्द्रीय कार्यालय भएको भवन भीमबहादुर ढाक्वाले होटल संचालन गरेका थिए । माओवादी द्वन्द्वका कारण होटल व्यवसाय ठप्प भएपछि वाणिज्य बैंकले उक्त भवन र जग्गा लिलाम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?