तनहुँकी सुप्रिता र बर्दियाकी अन्जुको समलिङ्गी विवाहलाई कानुनी मान्यता

नेपालगञ्ज : तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङ र बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन्। करिब ५ वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाह बन्धनमा बाँधिए।

अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उनीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बढैयाताल –२ का स्थानीय पञ्जीकाधिकारी एवं वडासचिव दीपक नेपालीले जानकारी दिए।

प्रमाणपत्रमा हाललाई अस्थायी विवाह दर्ता गरिएको उल्लेख गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा राय तथा निर्देशन उपलब्ध गराइदिन पत्र पठाएर आवश्यक समन्वयमा कानुन नबन्दासम्म अस्थायी विवाह दर्ता प्रमाणपत्र दिइएको बताए।

अञ्जु हाल बाँकेको कोहलपुर–५ मा बस्दै आएकी छन् भने सुप्रिता बेलायतमा बस्छिन्। ‘कक्षा १२ मा पढ्दै गर्दा फेसबुकमार्फत चिनजान भयो, सम्बन्ध बढाउँदै जादाँ हामी विवाह नै गर्ने मनस्थितिमा पुग्यौँ,’ सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अञ्जुले भनिन्, ‘प्रेम सम्बन्धमा परेपछि हामीले धार्मिक संस्कारअनुसार विवाह गर्‍यौँ र दुवैजना सँगै बस्न थाल्यौँ।’

अञ्जुका अनुसार स्याङ्जाको वालिङस्थित छाङछाङदी मन्दिरमा ५ वर्षअघि उनीहरूले विवाह गरेका थिए। पहिले परिवार र आफन्तबाट अपहेलित हुनुपरे पनि अहिले साथ मिलेको उनीहरुले सुनाए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगञ्ज र मायाको पहिचान नेपाल काठमाडौंले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफ्नो अभियानलाई बल पुगेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?