काठमाडौँ : पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरागमन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो । ३८ औं मिनेटमा नेपालकी पूजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास गोलमा परिणत हुँदा नेपाल पछि परेको थियो । तर नेपालले खेलको ७६ औँ मिनेटमा बराबरी गोल गर्यो, खेलमा फर्कियो ।
सावित्रा भण्डारीले गरेको प्रहार लेबनानका खेलाडीले क्लियर गर्न नसक्दा सावित्रीले नै गोलमा परिणत गरिन् । सावित्रीले जारी प्रतियोगितामा नवौं गोल गरिन् । उनी दक्षिण एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिइन् ।
उनले भारतकी बाला देवीलाई पछि पारेकी हुन् । यो सावित्राको करियरको ५३ औं गोल हो भने बालादेवीले ५२ गोल गरिन् ।
दोस्रो हाफमा अतिरिक्त पाँच मिनेट थप गरिएको थियो । चौथो मिनेटमा नेपालकी प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाइन् । विमला चौधरीले प्रहार गरेको कर्नर किक क्लियर भएपनि डिबक्स भन्दा बाहिरबाट प्रीतिले गरेको प्रहार सिधै गोलमा परिणत हुँदा नेपाल अन्ततः २-१ गोलको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
नेपालले अब उपाधिका लागि जोड्नसँग खेल्ने छ । जोर्डनले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जोर्डन वाफको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल पहिलो पटक यो प्रतियोगितामा सहभागी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?