आज र भोलि धेरै स्थानमा वर्षाको सम्भावना

दमौली : हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली रहेको छ । जसको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेक्रममा छ । जसका कारणले पनि आज गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै कोशी प्रदेशको पहाडी भेगका एक, दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज गण्डकी, सुदूरपश्चिम, कर्णाली र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, भोलि गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मतीसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?