नेपालद्वारा नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विष्फोटक सुरुवातका बाबजुत कमजोर फिनिसिङ गर्दा नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाउन सक्यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले ४७ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक गुल्सन झाले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा कुशल मल्लले २६ रन बनाएका थिए।

नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र स्याब्रान्ड एनंगलब्रेचले समान २-२ विकेट लिएका थिए।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै उपाधि जितेको थियो। २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?