तनहुँ समाज हङकङद्धारा मृगौला र क्यान्सर पीडितलाई ४ लाख बराबर सहयोग

दमौली :  तनहुँ समाज हङकङले दुई जना मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले बिहीवार दमौलीमा ३ जना बिरामीको उपचारार्थ सहयोग गरेको हो ।

समाजले तीन जना बिरामीलाई एक लाख ३० हजारका दरले ३ लाख ९० हजार सहयोग गरेको छ । केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेका तनहुँको व्यास नगरपालिका–३ देउराली नगरका ७१ वर्षीय इन्द्रसिंह गुरुङ र व्यास–१ गल्बुवेसीका ५५ वर्षका नरबहादुर गुरुङको उपचारार्थ सहयोग गरेको हो ।

त्यस्तै गरि भानु नगरपालिका–१३ पोखरीछापका ४६ वर्षीय मिन बहादुरलाई पनि समाजले आर्थिक सहयोग गरेको छ ।
समाजका पुर्व अध्यक्ष जंगबहादुर थापा र भीमराज गुरुङले संयक्त रुपमा सहयोग रकम बिरामी तथा तिनका परिवारलाई हस्तान्तरण गरेका हुन् । बिरामी मध्ये मृगौला पीडितले तनहुँ जिल्ला अस्पतालबाट नियमित डायलाइसिस सेवा लिइरहेका छन् भने क्यान्सर पीडितको इन्डियामा उपचार भइरहेको छ ।

उक्त रकम विभिन्न सिलसिलमा हङकङ पुगेका तनहुँवासीबाट संकलन गरेर पठाइएको हो । रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष थापाले बिगत देखीनै समाजले तनहुँको समाजिक बिकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए । दुख पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ आफ्नो क्षमता अनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको थापाले बताए ।

साथै पूर्व अध्यक्ष गुरुङले १९९९ देखी समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरेको उनले बताए । हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उनले बताए ।

समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?