काठमाडौं : गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे ०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए।
मनाङे आफ्नो दलको सांसद रहेको भन्दै एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयलाई अभिलेख राखिदिन पत्राचार गरेको थियो।
सो पत्रअनुसार नै मनाङे आइतबारसम्म समाजवादीको सांसदको हैसियतमा थिए। तर, आइतबार उनले निर्विरोध निर्वाचित भएका कारण आफू स्वतन्त्र नै रहन चाहेको मनसायसहितको निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए।
सचिवालयले कुनै निर्णय नगर्दै उनी मन्त्री भएपछि दलले कारबाही गरेको हो। मनाङेले दिएको निवेदनलाई कुन कानुनी आधारमा अगाडि बढाउने भन्नेमा सचिवालय अनिर्णीत नै छ।
प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सम्बन्धित दल नेकपा एसको आधिकारिक पत्र आएपछि निवेदनमाथिको प्रक्रिया अगाडि बढ्ने छ।
दल त्याग गरेकै विषयमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
मनाङेमाथि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ आकर्षित हुने दावी समाजवादीको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?