
दिल्लीको राउज एभेन्यु अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ।
दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेपछि जाँच एजेन्सीले पुर्पक्षका लागि १० दिन न्यायिक हिरासतमा राख्न माग गरेको हो।
अदालतमा शुक्रबार पेश गरिएका मुख्यमन्त्री केजरीवालले आफ्नो अडान जारी राखेका छन्। ‘म जेलभित्र वा बाहिर जहाँ भए पनि मेरो जीवन देशका लागि समर्पित छ,’ पुर्पक्षका लागि हिरासतमा राख्ने म्यादको सुनुवाइका लागि अदालत परिसरमा प्रवेश गर्ने क्रममा उनले पत्रकारहरूसँग भने।
इडीले अदालतमा मुख्यमन्त्री केजरीवाल व्यापारीहरूबाट घुस माग्ने मुख्य षड्यन्त्रकारी भएको आरोप लगाउनुका साथै अन्तःशुल्क नीति निर्माणमा उनको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो।
इडीका वकिलले आम आदमी पार्टी (आप) का मिडिया इन्चार्ज विजय नायरले मुख्यमन्त्री केजरीवालका लागि काम गरिरहेको दाबी गरेका थिए। एजेन्सीले केजरीवालको घर नजिकै बस्ने नायरले आप र दक्षिण समूहबीच बिचौलियाका रूपमा काम गरिरहेको बताएको छ।
अपराधको कमाइ एक सय करोड (भारतीय रुपैयाँ) मात्र नभई घुस दिनेहरूले गरेको नाफा पनि अपराधको कमाइ भएको इडीका वकिलले थप दावी गरेका थिए। एजेन्सीले गोवा चुनावमा प्रयोग भएको ४५ करोडको हवाला ट्रेलहरु पत्ता लगाएको वकिलले बताएका छन्।
केजरीवालका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता अभिषेक मनु सिङ्घवीले रिमाण्डको निवेदनको विरोध गर्दै एजेन्सीले पक्राउ गर्न आवश्यक कारणहरू देखाउनुपर्ने बताए।
उनले पक्राउको शक्ति र पक्राउको आवश्यकता दुई फरक कुरा भएको तर्क गर्दै स्वतन्त्रताको ७५ वर्षको इतिहासमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक भएको बताए।
अन्तःशुल्क नीति मामिला विषयको मुद्दामा दिल्ली उच्च अदालतले जबरजस्ती कारबाहीबाट आन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि बिहीबार इडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको थियो।
यो मुद्दा दिल्ली अन्तःशुल्क नीति मुद्दा २०२२ को गठन र कार्यान्वयनमा भएको अनियमितताको र मनी लन्ड्रिङसँग (कालो धनलाई सेतो बनाउने) सम्बन्धित मुद्दा हो। यसलाई पछि खारेज गरिएको थियो।
आपका दुई वरिष्ठ नेता मनिष सिसोदिया र सञ्जय सिंह अन्तःशुल्क नीति मुद्दामा न्यायिक हिरासतमा छन्। सिबिआईले फेब्रुअरी २६ मा कैयौं चरणको सोधपुछपछि दिल्लीका तत्कालीन उपमुख्यमन्त्री सिसोदियालाई पक्राउ गरेको थियो। इडीले अक्टोबर ५ मा राज्यसभा सदस्य सञ्जय सिंहलाई पक्राउ गरेको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?