गृहमन्त्रीलाई भेटेर धरान उपमहानगर प्रमुखले माग गरे प्रहरी कार्यालय भवन

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

आइतबार गृहमन्त्री लामिछानेलाई भेट्न प्रमुख साम्पाङ गृह मन्त्रालयमा पुगेका थिए । भेटका क्रममा साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको गुनासो पोखे ।

उनले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका निम्ति पर्याप्त साधन–स्रोतको माग गरेको गृहमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई प्रमुख साम्पाङको सुझाव समेत दिए ।

प्रहरीलाई ‘आमनागरिकलाई भर : गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएको सचिवालयले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?