इजरायलले इरानमाथि गर्‍याे मिसाइल आक्रमण

काठमाडौं : इजरायलले इरानमाथि शुक्रबार बिहान मिसाइल आक्रमण गरेको छ। इरानको इशफान क्षेत्रमा थुप्रै विस्फोटका घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आक्रमण भएसँगै इरानले आफ्नाे देशबाट अरू देशमा जाने केही उडानसमेत तत्काल रद्द गरेकाे छ। गत शनिबार इरानले पहिलो पटक आफ्नो भूमिबाट इजरायलमा ३ सय मिसाइल प्रहार गरेको थियो।

अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा इरानले यो हमला गरेको हो। यस हमलामा कुल १३ जनाको ज्यान गएको थियो जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायक पनि मारिएका थिए।

इजरायलले यस हमलाको जिम्मेवारी लिएको छैन तर यो इजरायलले नै गरेको विश्वास गरिन्छ।

उक्त हमलापश्चात् इजरायली युद्ध परिषद्ले इरानको ड्रोन र मिसाइल आक्रमणलाई कसरी जवाफ दिने भन्ने बारेमा छलफल गरेको थियाे।

इरानी विदेशमन्त्री हुसेन अमिर-अब्दुल्लाहियानले इरानकाे सुरक्षामा थप आक्रमण भए तुरुन्त जवाफ दिने चेतावनीसमेत दिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?