कतारका अमिरको भ्रमण : सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौं : सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो । कतारका अमिर तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् ।

सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो ।

जेठा दाइ शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा थानी उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकपजस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पुर्‍याएका थिए ।

उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर थानी मंगलबार नेपाल आउन लागेका हुन् ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरूबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ । यो अवधिमा नेपालबाट कतारमा उच्चस्तरीय भ्रमणहरू भए पनि कतारबाट हुन सकेको थिएन ।

कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सन् २००० मा कतारमा आफ्नो दूतावास स्थापना गरेको थियो । कतारले सन् २०११ मा नेपालमा दूतावास खोलेको थियो ।

नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?