काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडल कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् । राष्ट्रपति पौडेलेको निमन्त्रणमा कतारका अमिर थानी दुई दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आउँदै छन् ।
कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल मंगलबार विमानस्थल जाने उनका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरे । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।
नेपाल आएलगत्तै कतारका अमिर राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम रहेको छ । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ ।
बुधबार बिहान कतारका अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यसपछि नेपाल र कतारबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । उनी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्री समेत सहभागी हुनेछन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिरको नेपाल भ्रमणको दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?