काठमाडौं : उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । “बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ,” उनले भने ।
सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
हिजो (शनिबार) पनि सर्वदलीय बैठक बसेको थियो । सो बैठकले आज बिहान ७ बजेदेखि मतगणना सुरु गरिने भने पनि पुनः बैठक बसेर मात्र मतगणना गर्न लागिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।
इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । मुख्य निर्वाचन आधिकृत घिमिरेले दिएको जानकारीअनुसार उक्त मत खसेको तथ्यांक निर्वाचन आयोगले निकालेको छ । “६९ हजार ४२१ मत खसेको विवरण हामीले निकालेका छौँ,” उनले भने ।
हृदयघातका कारण संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपश्चात् उपनिर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?