आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने

काठमाडौं : देशका विभिन्न स्थानमा बिहीबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?