
काठमाडौं : सामान्य नागरिकका लागि पहुँच बाहिर बन्ने गरेको सिंहदरबारभित्रको गृह मन्त्रालयमा आजभोलि दैनिक झण्डै ५० भन्दा बढी व्यक्ति आफ्ना समस्या लिएर पुग्ने गरेका छन् । रवि लामिछाने गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेदेखि मन्त्रालयको ढोकैमा ‘हेल्प डेस्क’को व्यवस्था गरेका छन्, जहाँ उनका सचिवालयका सदस्यहरू, कानुन व्यवसायीहरू पीरमर्का लिएर आएका सर्वसाधारणको समस्या समाधान गर्न खटिने गरेका छन् ।
सवारी दुर्घटनामा परेकी र दुर्घटना गराउने चालकबाट उपचार खर्च नपाएकी एक पीडित महिला बुधबार वैशाखी टेक्दै गृह मन्त्रालय पुगेकी थिइन् । मन्त्री लामिछाने मन्त्रालयबाट बाहिरिने क्रममा ती महिलाले ढोकैमा भेटेर रुँदै आफ्ना समस्या सुनाइन् । प्रहरीले पनि आफ्नो कुरा नसुनेको र दुर्घटनामा संलग्न गाडी काठमाडौँ–सिन्धुली–झापा सडकमा गुडिरहे पनि प्रहरीले नसमातेको गुनासो उनले लामिछानेसँग गरिन् ।
मन्त्री लामिछानेले उनको समस्या सुन्दै ‘हेल्प डेस्क’मा रहेका सचिवालय सदस्यहरूले समस्या समाधानका लागि काम गर्ने बताए । लामिछानेलाई गेटमा अन्य केही व्यक्तिले मिटरव्याजीबाट दुःख पाएको गुनासो सुनाए । उनीहरूलाई ‘हेल्प डेस्क’मा केहीबेर बस्न आग्रह गर्दै समाधानका लागि पहल हुने बताएर लामिछाने निस्किए ।
गृहमन्त्री लामिछानेका सचिवालय सदस्य आशिष थापाले उनीहरूको समस्या टिपे । उनले झण्डै १ वर्ष अगाडितिर सवारी दुर्घटना भएको स्थल सिन्धुली प्रहरी कार्यालयमा फोन गरेर घटना विवरण बुझे । दुर्घटना गराउने बस अहिले चलिरहेको भए त्यसलाई समाएर अनुसन्धान गर्न उनले प्रहरीलाई आग्रह गरे । थापाले फोन गरेको १५ मिनेटमा उक्त माइक्रो बस र सवारी चालक समातिएको जानकारी मन्त्रालयमा पुग्यो ।
ती महिलाजस्तै अन्य व्यक्ति पनि गृह मन्त्रालयमा विभिन्न खालका समस्या लिएर पुगेका थिए । ‘हेल्प डेस्क’ले उनीहरूका गुनासो सुन्दै कहाँबाट समस्या उत्पन्न भएको हो, सम्बन्धित निकायमा फोन गर्दै त्यसको सत्यतथ्य बुझ्दै समाधानका लागि पहल गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?