
काठमाडौं : देशका केही स्थानमा आइतबार (भोलि) वर्षाको सम्भावना छ । शनिबार पनि कोसी, वाग्मती (काठमाडौंसहित), गण्डकी प्रदेशलगायत केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए ।
हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुका कारण काठमाडौंसहित शनिबार देशका विभिन्न स्थानमा वर्षा भएको उनले बताए ।
काठमाडौंमा आइतबार बिहान घामको पनि सम्भावना रहेको उनले बताए । दिउँसो भने बदली हुने देखिएको उनले स्पष्ट पारे । “बादल हुने, खुलेको जस्तो उज्यालो हुने, घामचाहिँ बिहान हुन्छ,” उनले भने, “दिउँसो, अपराह्न बादल र वर्षाको सम्भावना देखिन्छ । घामको सम्भावना छैन ।”
आइतबारको तुलनामा सोमबार र मंगलबार वर्षाको सम्भावना कम रहेको उनले बताए । नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको उनले उल्लेख गरे । नेपालमा मनसुनी प्रभाव सुरु नभएको उनले जानकारी दिए । स्थानीय र पश्चिमी वायुकै प्रभाव रहेको उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?