विश्वकप क्रिकेट : न्युजिल्यान्डमाथि अफगानिस्तानको शानदार जीत

काठमाडौं : आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डमाथि पहिलो इतिहासमै पटक शानदार जीत हासिल पारेको छ । आज बिहान भएको प्रतिस्पर्धामा बलियो न्युजिल्याण्डमाथि अफगानिस्तान ८४ रनले विजयी भएको हो ।

एक सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५दशमलव दुइ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाए ।

ओपनर फिन एलेन शून्य, डेभन कन्वे आठ, केन विलियम्सन नौ, डर्याल मिचेल पाँच, मार्क च्यापम्यान र मिचेल सान्टनार चार–चार रनमा आउट भए । म्याट हेनरीले १८ बलमा १२ रन बनाए । न्युजिल्यान्डका नौ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका कप्तान राशिद खानले चार ओभरमा १७ रन खर्चेर चार विकेट लिए । मोहम्मद नाबीले चार ओभरमा १६ रन खर्चेर दुई विकेट लिए । फजलहक फारुकीले तीन दशमलव दुइ ओभरमा १७ रन खर्चेर चार विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा छ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले पाँचा चौका र पाँच छक्कासहित सर्वाधिक ८० रनको विजयी इनिङ खेले ।

ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४दशमलव तीन ओभरमा एक सय तीन रनको शतकीय साझेदारी गरेका थिए ।

जद्रान तीन चौका र दुई छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई एक चौका र दुई छक्कासहित २२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए । ट्रेन्ट बोल्टले २२ रन खर्चेर दुई र लोकी फर्गुसनले एक विकेट लिए ।

समूह सी मा अफगानिस्तान दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?