काठमाडौं- यस वर्षको मनसुन प्रणाली साेमबारबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ ।
जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा वर्षा भइरहेको छ । साथै हाल गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो ।
साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ ।
मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रुपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरु देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?