कास्कीको मादी र पोखरामा पहिरो, २ जनाको मृत्यु, एक घाइते

पोखरा : गएराति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका र पोखरा महानगरपालिकाको आरुपाटामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–२७ आरुपाटास्थित हरी सुनारको घरमा बुधबार बिहान घर माथिबाट आएको पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएर ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले पुरिएर घाइते भएका २७ वर्षीय रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको छ । पहिरोले सुनारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ ।

यस्तै बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुस्मा रानाभाटको मृत्यु भएको छ ।

चितेपानीस्थित प्रकाश रानाभाटको घर पछाडिबाट आएको पहिरोले घरको पछाडि भाग भत्किदा कोठामा सुतिरहेकी आयुस्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घरका अन्य सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?