गृहमन्त्री रवि लामिछानेको दाबी- बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा वर्तमान सरकार ढालिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउबाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताए ।

गृहमन्त्री लामिछानेले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनेर प्रश्नसमेत गरे । ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो ? हाम्रो सहमति के भयो भनेर तपाईंहरूले सदनलाई ढाँट्नुभयो । सबैलाई थाहा छ सरकार किन ढल्यो ? स्पष्ट छ- केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउबाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छै,’ उनले भने ।

उनले संसदीय समितिमा कांग्रेस-एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए । ‘अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत भयो होला । अब त मलाई ठग प्रमाणित गर्न तपाईंहरूलाई कुनै आपत् पनि पर्दैन होला । गर्नुस् ठग प्रमाणित । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाटै गर्नुस् तयार छु,’ उनले भने ।

गृहमन्त्री लामिछानेले अनुसन्धानको सुईले कसैको ढोका ढक्ढकाउन थालेपछि दुई ठूला दललाई संविधानको याद आएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?