काठमाडौं : सोसल मिडियाको यो युगमा फोटो शेयरिङ एप इन्स्टाग्राम ठूला सेलिब्रिटीदेखि आम युवा तथा किशोर किशोरीसम्ममा निकै लोकप्रिय छ । मेटा (फेसबुक) कम्पनी मातहको सोसल मिडिया एप इन्स्टाग्रामले प्रयोगकर्ताका लागि समय समयमा विभिन्न नयाँ–नयाँ फिचरहरु थप गर्ने गरेको छ र अब स्टोरी फिचरमा निकै महत्वपूर्ण परिवर्तन गर्दैछ ।
टर्कीका एक इन्स्टाग्राम प्रयोगकर्ताले सबैभन्दा पहिले इन्स्टाग्राममा यो नयाँ फिचर पत्ता लगाएका छन् जसमा स्टोरी अपलोड गर्दा १५ सेकेण्डको समयसीमा हटाइएको छ । समाचार अनुसार इन्स्टाग्रामले स्टोरीमा १५ सेकेण्डको समयसीमा हटाउने महत्वपूर्ण अपडेटको परीक्षण सुरु गरेको छ । इन्स्टाग्राममा स्टोरीको नयाँ समयसीमा ६० सेकेण्ड कायम गरिएको छ ।
अर्थात् अब प्रयोगकर्ताहरुले इन्स्टाग्राममा १ मिनेटसम्मको स्टोरी अपलोड गर्न सक्नेछन् । स्नापच्याट र टिकटकलाई टक्कर दिने उद्धेश्यले इन्स्टाग्रामले स्टोरीको समयसीमा वृद्धि गर्न लागेको बताइएको छ ।
अहिलेसम्म इन्स्टाग्राममा अपलोड गरिने कुनैपनि स्टोरी १५ सेकेण्डको हुने गरेको छ । यदि तपाईंले त्यसभन्दा लामो स्टोरी अपलोड गरेमा त्यो १५/१५ सेकेण्डमा बाँडिएर अपलोड हुन्छ ।
इन्स्टाग्रामको यो फिचर अहिले परीक्षणको चरणमा रहेको हुनाले आम प्रयोगकर्ताका लागि कहिलेदेखि सुरु हुने भन्ने जानकारी सार्वजनिक भएको छैन ।
–एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?