नेपाली सेनाको जिम्मेवारी सम्हाल्दै बलाधिकृत रथी सिग्देल

काठमाडौँ : बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा जिम्मेवारी सम्हाल्दै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही साउन २५ गतेदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकका हुन् ।

ज्येष्ठताका आधारमा रथी सिग्देललाई यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् ।

स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका बलाधिकृत रथी सिग्देलले आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक, आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । अठ्तीस वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ ।

उनले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छ । सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित भएका छन् । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन् ।

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी तोकेको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ । नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?