मेडिकल कलेजमा होस्टल तथा मेस ऐच्छिक हो ; चिकित्सा शिक्षा आयोग

काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई होस्टल र मेस अनिवार्य नगर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको छ । कतिपय मेडिकल कलेजले होस्टल र मेस अनिवार्य गरेर चर्को शुल्क असुलेको गुनासो आएपछि चिकित्सा शिक्षा आयोगले होस्टल र मेस अनिवार्य नगर्न भनेको हो ।

आयोगले एक विज्ञप्ति निकाल्दै अनिवार्य नभएका विषयमा पनि मेडिकल कलेजले अनिवार्य भनी अतिरिक्त शुल्क लिँदा छात्रवृत्ति पाएका अतिन्यून आयस्रोत भएका विद्यार्थीसमेत पढाइबाट बञ्चित हुने स्थिति सिर्जना हुने भन्दै आयोगले जथाभावी शुल्क नलिन आग्रह गरेको छ ।

आयोगले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन, आन्तरिक परीक्षा, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप, आवेदन र सम्बन्धन शुल्कलगायत शैक्षिक क्रियाकलापजन्य सबै शुल्क समेटिने पनि उल्लेख गरेको छ ।आयोगले गत वैशाख २९ गते एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शिक्षण शुल्क तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?