व्यासलाई वातावरणमैत्री नगर बनाउने अभियानमा सहयोग गर्न नगरपालिकाको अनुरोध

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले नगरलाई वातावरण मैत्री नगरपालिका निर्माणमा सहयोग गर्न नगरवासी समक्ष अनुरोध गरेको छ । नगरपालिकाले बुधबार सुचना प्रेस विज्ञप्ति प्रकाशित गरि वातावरणमैत्री नगरपालिका बनाउने दीर्घकालीन सोचका साथ अघि बढिरहेको भन्दै सम्पूर्ण नगरवासीलाई यस अभियानमा सहयोग गर्न अनुरोध गरेको हो ।

विगत लामो समयदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनमा स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरण कार्य भइरहेको, कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको, नकुहिने फोहोरलाई पुनःप्रयोगमा आउने सामग्री छुट्याई बिक्रीमा पठाइने, शिसाजन्य सामग्री अलग्गै संकलन गरी बिक्रीमा गइसकेको तथा फोहोरको स्थायी समाधानका लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको हुँदा फोहोर वर्गीकरण र विसर्जन कार्यमा स्थानीय टोल विकास संस्था र अन्य सामाजिक संघ संस्थासँग सहयोगका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

व्यास नगरपालिका क्षेत्रभित्र २०८१ जेठ १ गते देखि प्लाष्टिकका झोला, प्लेट, कप लगायतका हानिकारक प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निषेधित गर्दै, वातावरण प्रदूषण न्यूनीकरण गर्दै वातावरणलाई स्वच्छ र सफा राख्न व्यास नगरपालिकाद्वारा बनेको व्यासनगर प्लाष्टिक जन्य वस्तुको प्रतिबन्ध गर्ने सम्बन्धी ऐन २०८१ र सोको कार्यविधि अनुसार प्लाष्टिकका झोला, ग्लास र प्लेटको प्रयोगलाई निषेध गर्ने र सोको सट्टामा वातावरण मैत्री कपडा, जुट वा कागजका झोलाहरू र कागजका कप प्लेट वा दुना टपरी वा जैविक पदार्थबाट बनेका वस्तुहरू मात्र प्रयोग गर्न पनि नगरपालिकाले सर्वसाधरणमा अनुरोध गरेको छ ।

तसर्थ उक्त निषेधित वस्तुहरू व्यासनगर क्षेत्रभित्र उत्पादन, बिक्री वितरण वा प्रयोग गर्न प्रतिबन्ध गरिएको हुँदा यदि नगरको ऐन नियम विपरीत गरेको पाइएमा नगरपालिकाले नगरसभाबाट पारित ऐन अनुसार जरिवाना गरिने पनि नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?