विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो । फिनालेमा ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो ।