बसको ब्रेक फेल भएपछि तनहुँमा ६ वटा गाडी ठोक्किए

दमौली : तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ।

सो दुर्घटनामा ४ जना घाइते भएका छन्। बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा यात्रुबाहक बसको ब्रेक फेल भएपछि सो घटना हुन पुगेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार दमौलीतर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नम्बरको ट्रकमा ठोक्कियो।

ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग३च ८३९० नम्बरको बलेरोलाई ठक्कर दियो भने उक्त बलेरो गाडी फेरि सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बसमा ठोक्किन पुग्यो। यस्तै उक्त बसले फेरि ना १ च ८४३४ नम्बरको बलेरो तथा उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा ग ३ च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, वलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कडेल र ना १ च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन्। घाइते सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?