प्रकाश तामाङले भेटे प्रधानमन्त्री

काठमाडौं : ‘हेर्ने कथा’को ‘हराएको कथाहरू’बाट चर्चित प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार साँझ बालुवाटार पुगेर प्रकाशले ओलीलाई भेटेका हुन् ।

“प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरू कुरामा पनि सहज हुन्छ, खुसी लाग्यो,” सामाजिक सञ्जालबाट ओलीले भनेका छन् ।

यसअघि, भदौ १२ गते प्रकाशको नागरिकता बनाउन प्रधानमन्त्री ओलीले पहल थाल‍ेको बताएका थिए । ओलीले तत्कालीन गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता बनाउन लाग्ने प्रक्रियाबारे बुझेका थिए ।

प्रकाशले आइतबार नागरिकता पाइसकेका छन् । भोजपुरको षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर प्रशासनको टोलीले नागरिकता प्रदान गरेको थियो ।

३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौं आउँदा हराएका प्रकाश गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा थिए । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उनको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?