सुस्ता जोड्न नारायणी नदीमा बनेको पुलको राष्ट्रपति पौडेलद्वारा उद्घाटन

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका ५ स्थित नारायणी नदीमा निर्माण भएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलगायत जनप्रतिनिधिहरुको उपस्थितिमा राष्ट्रपतिले सो पुल उद्घाटन गरेका हुन् ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका ५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोडेको छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नुअघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । वर्षायाममा उच्च वहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।

डुंगा दुर्घटना हुँदा मानवीय क्षति समेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल भ्याटबाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो ।

यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता भएको । यो पुलको दायाँ किनारमा सकरदिनही र बायाँ किनारमा सुस्ता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?